Tilak KC: Inspirational story of an immigrant from Nepal. Tilak KC: Inspirational story of an immigrant from Nepal.

May 12, 2019

प्रस्तुति : किरण मरहट्टा, मिलवाकी, विस्कनसन

‘जब एसएलसी सकेर उच्चशिक्षाको लागी पोखरा प्रस्थान गरेँ तब मैले जीवनमै पहिलोपल्ट बस चढ्ने सौभाग्य पाएँ,’ शिकागो करि हाउस, शिकागोको माथिल्लो तलामा रहेको हलमा खचाखच दर्शक माझ उनले भने, ‘त्यो सम्झना अझै धूमिल भएको छैन, कि दशौँ मानिसलाइ बोकेर कोसौँको दुरी घण्टामै पार गर्ने त्यो अजिवको लाग्ने साधनमा सयर गर्दा मैले आफुलाइ चन्द्रलोकको यात्रामा निस्केको निल आर्मस्ट्रगसँग तुलना गरेको थिए ।‘ एनआरएनए अमेरिकाको बोर्ड अफ डाइरेक्टरमा उम्मेदवारी घोषणा तथा पत्रकार अन्तक्र्रिया कार्यक्रममा प्रश्नकर्ताले, ‘तिलक केसीजी तपाइको उम्मेदवारी केका लागीे ?’ भन्ने प्रश्न राख्नु अगावै करिब १७ मिनेट मन्तव्य दिएका केसीले त्यतिबेला सबैभन्दा धेरै ताली पाए जब उनले भने, ‘मेरो जीबनकै सबैभन्दा प्रिय मान्छे जसले निराशाहरुले मलाइ निल्नै लाग्दा निलकण्ठको रुप धारण गरिन्, मेरी जीवन संगीनिलाइ मेरी छोरीसँगै मञ्चमा आइदिन अनुरोध गर्दछु ।’ आफ्ना बिचारहरुलाइ कथानक शैलीमा प्रस्तुत गर्दै केसीले थपे, ‘मेरी छोरी, अन्तिमा, जसको आगमनले, हाम्रो परिवारमा बसन्त बहार आएको थियो ।’
मन्तव्यको पुरातन शैलीलाइ क्रमभंग गर्दै केसीले मौलिकता मात्र पस्किएन् बरु आफ्नो जीवन सहअस्तित्व, सद्भाव र समर्पणको त्रिवेणी भएको परिचयसमेत दिन सफल भए । ‘हि इज अ जिनियस गाइ’ दर्शकदीर्घामा आवाज सुनियो । बस चढ्दा चन्द्रलोक पुगेको रोमान्चकता सँगालेका तिलक केसी आज बोइगंको देशमा छन्, मर्सीडिज कार चढ्छन्, व्यापार र समाजसेवाका मानक हुन् तर मन उहिं छ–प्युठान, पश्चिम नेपालको पहाड, जहाँ उनको शैशवकाल वित्यो ।
पढाइमा अब्बल तिलकले पृथ्वीनारायण क्याम्पस, पोखराबाट आइ.एस्सी सके । अनि काठमाडौ हानिए र अमृत साइन्स क्याम्पसमा १९९६ मा बि.एस्सी पनि सके । अमृत साइन्स क्याम्पस नेपाली बिद्यार्थी राजनीतिको केन्द्र थियो । जहाँ एकसे एक गतिविधी हुने गर्दथे । पोखरा रहँदै राजनीतिमा होमिएका तिलकका लागी अमृत क्याम्पसको भूमि थप उर्जा बनिदियो । बिद्यार्थी राजनीतिमा उनले मौलिक पहिचान निर्माण गरे । शैक्षिक गुणस्तर सुधार र बिद्यार्थी हकहितको सुनिश्चिताका लागी उनले अहं भूमिका निर्वाह गरेका थिए । ‘त्यो समय संसार बदल्ने आँट थियो आफुले सकेको योगदान दिइयो’ उनी आफ्नो कलेजका दिन सम्झन्छन् । त्रिभुवन विश्वविद्यालयबाट सन् १९९५ मा एम.एस्सी पास गरे पछि उनी पोखरा फर्किए र सन् १९९७ मा पृथ्बीनारायण क्याम्पसमा अध्यापन सुरु गरे । पेशा फेरियो, अब सामाजिक र राजनीतिक भूमिका पनि फेरियो । हिजो विद्यार्थीका आवाजमा प्राण भर्ने तिलक केसी अब प्रध्यापकको समस्या र मागको नेतृत्व गर्ने अवस्थामा आइपुगे । त्यतिबेला त्रिभुवन विश्वविद्यालयका करारका प्रध्यापकहरुको समस्या ठूलो थियो । सरकारी अदुरदर्शीताका कारण उनीहरु आफ्नो बषौँेदेखिको पेशाबाट हात धुनुपर्ने अवस्थामा आइपुगेका थिए तव केसीलाइ लाग्यो केही त जरुर गर्नुपर्छ ।
उनले करार तथा अस्थायी प्राध्यापक संघ स्थापनाको पहल गरे जसले त्यस्ता प्राध्यापकहरुको समस्या समाधानमा ऐतिहासिक भूमिका खेल्यो । ‘त्यो मेरो जिवनको एक स्वर्णकाल थियो जहाँ मैले प्राज्ञिक छबि मात्र निर्माण गरिन बरु बर्षाैंदेखि बल्झिएको समस्या समाधानमा सारथी हुन पाए’ उनी भन्छन् । बहुआयामिक व्यक्तित्वका धनी तिलकले नेपालमा राजनीतिक, समाजिक क्षेत्रका अलावा प्रज्ञिक क्षेत्रमा पनि आफुलाई अब्बल साबित गरेका थिए । उनले बिजनेस अर्थम्याटिकस तथा बिजनेस म्याथम्याटिक्स जस्ता अति उपयोगी पुस्तक लेखे । जुन आजपनि नेपालका अधिकांश विश्वविद्यालयहरुको पाठ्य सामग्रीमा समावेश छ । १९९३ मै त्रिभुवन विश्वविद्यालयको स्ववियु सचिव बनेका तिलक केसीले त्यस पश्चात करिब १ दशक मानवअधिकार, सामाजिक न्याय र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको क्षेत्रमा महत्वपुण योगदान दिएका थिए । बिभेद रहित, समतामुलक समाज निर्माणका लागी जिवनको उर्जाशिल समय खर्र्चीएका तिलक केसीे अब नेपालको राजनीतिले गति लिनेमा आशावादी छन्, ‘अबको एजेन्डा आर्थिक समृद्धि हुनुपर्छ’ उनी भन्छन् । सन् २००२ मा पिएचडीको लागी कनकोर्डीया विश्वविद्यालय, मिलवाकी, अमेरिकाका लागी उड्नु अघिसम्म उनले पृथ्बिनारायण क्याम्पसमा अध्यापन गरे ।
नेपाली अनुहार बिरलै भेटिन मिलवाकी शहरमा उनले लामो समय एक अजनवी जीबन बाँचे । सपनाको देशमा उनको प्रारम्भिक संघर्षको कहानी एक आप्रवासीको कठिन यात्रा प्रतित हुन्छ । ‘त्यो संघर्षको महाभारत थियो’ केसी सम्झन्छन्, ‘परिस्थिति कस्तोसम्म भोगीयो भने नुन किन्ने ठाउँ समेत थाहा नभएर एकरात अलिनै खाना खाइयो ।’ विद्याबारिधी हासिल गर्ने सपनाले अमेरिका डोरिएका तिलक केसीेको जीवनले तब अनपेक्षित मोड लियो जब उनीेसंग छोरालाइ म्याक्डोनाल्को एक परिकार किनेर खुवाउने पैसा भएन । सन् २००६ को त्यो रात उनी बिलकुलै निदाउन सकेनन् । बिहान सूर्यको लाली धर्तीमा खस्नु अगाबै उनले निर्णय गरिसकेका थिए–‘म अब व्यवसाय गर्नेछु, आर्थिक समृद्धि नै मेरो लक्ष्य हुनुपर्छ’, स्कूल, कलेजको हरेक परीक्षामा अव्बल भएका तिलक केसी नियतिको यो परीक्षामा पनि उत्कृष्ठ ठहरिए तव न उनले आफ्नो व्यवसायिक पहिचान निर्माण गर्न सफल भए ।
सन् २००६ मा एक ग्यास स्टेसनबाट शुरुभएको उनको व्यवसाय यतिबेला धेरैवटा आउटलेटहरुमा फैलिइसकेको छ । उनले स्थापना गरेको ब्रान्ड हिमालय आयल मिलवाकी शहरमा परिचित ब्रान्ड बनेको छ । समाजसेवा रगतमै बोकेका तिलकले मिलबाकीमा बढ्दो नेपाली परिवारलाइ ध्यानमा राख्दै बालिबालीकामा नेपाली भाषा संस्कृतिको बोध गराउनु जरुरि ठाने र आफ्नै घरमा नेपाली भाषा पाठशाला स्थापना गरे जसले त्यस क्षेत्रका बालबालिकालाइ नेपाली भाषा, संस्कृतिसंग एकाकार गर्न ऐतिहासिक भूमिका खेलेको उनका छरछिमेकी सगर्व स्वीकार्छन । उनले सन् २०१२ मा मिलवाकी नेपाली परिवार स्थापना गरे जुन संस्थाले २०१५ को विनाशकारी भूकम्पमा करिब ७५ लाख नेपाली रुपैया संकलन गरि राहतस्वरुप नेपाल पठाएको थियो ।
एनआरएनए अमेरिकाको नेपाली व्यवसाय प्रवद्र्धन कार्यदलको सहअध्यक्ष समेत रहेका केसी नेपाली अमेरिकनहरुको पुरानो तथा प्रतिष्ठित संस्था एन्माको बरिष्ठ उपाध्यक्ष हुन् जहाँ उनले छोटो समयमै गहिरो छाप पारिसकेका छन् । त्यसैले त उम्मेदवारी घोषण सभामै एन्मा अध्यक्ष बलराम पन्थीले भने, ‘तिलक केसी जस्तो समर्पित समाजसेवी पाउनु एनआरएनएको सौभाग्य हुनेछ ।’ बौद्धिक र प्रखर व्यक्तित्वका धनी केसीले नेपाली–अमेरिकनको साना तथा मझौला पूँजी लगेर नेपालमा रोजगारी सिर्जना गर्ने योजना बुनेका छन् । ‘एनआरएनका लागि एनआरएनए’ भन्ने मुलनाराको साथमा एनआरएनए अमेरिकाको आसन्न कार्यकालका लागी चुनाबी मैदानमा होमिएका तिलकले अवसरको सिर्जना तथा समानुपातिक बितरण र समाबेशी एनआरएनएको मुद्दा पनि बोकेका छन् । ‘नयाँपुस्तालाइ अमेरिकी मुलधारमा प्रतिस्पर्धी बनाउनु र नेपाली संस्कृतिबाट बिमुख हुन नदिनु हाम्रो मुख्य चुनौती हो,’ उनी भन्छन् ।

*The feature was published on reputed National newspaper “JanaSawal” national Daily in April 20, 2020.